सरकारी वकीलहरुको तेस्रो राष्ट्रिय सम्मेलन, २०७७ को पौष १० गते समापन कार्यक्रमको जारी प्रेस विज्ञप्ति ।

samachar

2077-9-12

सरकारी वकीलहरुको तेस्रो राष्ट्रिय सम्मेलन, २०७७ को आज कार्यपत्र प्रस्तुती, सामुहिक छलफल, समूहगत प्रस्तुती, घोषणापत्रको प्रस्तुती तथा समापन समारोह आयोजना गरी विधिवत रुपमा सम्पन्न भयो ।

यस सम्मेलनको अन्तिम दिन आज माननीय महान्यायाधिवक्ता, नायब महान्यायाधिवक्ता, सहन्यायाधिवक्ता, उपन्यायाधिवक्ता, सहायक न्यायाधिवक्ता गरी जम्मा ३९४ जना सरकारी वकीलहरुको सहभागिता रहेको र सरकारी वकीलको कार्य सम्पादनसँग सम्बन्धित सरोकारवाला निकायका ७० जना भन्दा बढी प्रतिनिधिहरु पर्यवेक्षकको रुपमा रहनु भएको थियो । सहभागी तथा पर्यवेक्षकहरुलाई ‘क’ देखि ‘ङ’ समुहमा समुहकृत गरी फरक फरक जुम लिंकको माध्यमबाट प्रवेशाज्ञा दिई सम्मेलनको छलफलमा सहभागी गराइएको थियो । साथै, समुहगत प्रस्तुती तथा घोषणापत्र प्रस्तुतीमा समेत सहभागी तथा पर्यवेक्षकहरुलाई विद्युतीय माध्यमबाट सहभागी गराइएको थियो । सम्मेलनको समूह कार्यशाला संयोजन समूहबाट विद्युतीय माध्यमबाट प्रभावकारी रुपमा संयोजन गरिएको थियो । आजको दिनलाई समेत सम्मेलनको सघन प्रयोगशाला तथा सम्मेलनको उपलब्धीको रुपमा रुपान्तरण गरिएको थियो । कार्यकारी कार्यपत्रहरुको संयोजन, समूह प्रस्तुती र घोषणापत्रको प्रस्तुतीले सम्मेलनलाई उपलब्धीमूलक बनाएको थियो । विहान ८ः०० बजेदेखि अपरान्ह २ः४० बजेसम्म प्रस्तुतीकरणको सत्रहरु रहेका थिए भने तत्पश्चात दिनको ३ः०० बजेदेखि ५ः०० बजेसम्म समापन कार्यक्रम आयोजन गरी सम्मेलनलाई औपचारिक रुपमा समापन गरिएको थियो ।

समूह प्रस्तुतीको सत्रहरुमा समूह क को पहिलो सत्रमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को कार्यान्वयनको अवस्था र सुधारका क्षेत्रहरुको विषयमा प्रस्तुती रहेको थियो । यस सत्रको अध्यक्षता सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री अनिल कुमार सिन्हाले गर्नु भएको र वरिष्ठतम नायब महान्यायाधिवक्ता श्री पद्यप्रसाद पाण्डेले उक्त विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यसै विषयमा समुह ख को दोस्रो सत्रमा उच्च अदालत पाटनका माननीय न्यायाधीश श्री महेश शर्मा पौडेलले अध्यक्षता गर्नु भएको थियो भने सहन्यायाधिवक्ता श्री गोपाल प्रसाद रिजालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यस कार्यपत्रको प्रस्तुती र छलफलमा दण्डको सैद्धान्तिक विषय, मार्गदर्शन, अभियोजनकर्ताको भूमिका, ऐन कार्यान्वयनमा देखिएका समस्या तथा सुधारका पक्षहरुमा समेत प्रस्तुती र छलफल भएको थियो । 

यसैगरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को कार्यान्वयनको अवस्था र सुधारका क्षेत्रहरुको विषयमा समुह क को दोस्रो सत्रमा पूर्व महान्यायाधिवक्ता श्री द्रोणराज रेग्मीले अध्यक्षता गर्नु भएको र सहन्यायाधिवक्ता गंगा प्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यस कार्यपत्रमा फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन, न्याय निरोपण तथा फैसला कार्यान्वयन समेतका विषयमा भएका व्यवस्थाहरुको चर्चा गरिनुका साथै कार्यान्वयनमा देखिएका समस्या तथा समाधानका विषयहरु उल्लेख गरिएको थियो । छलफलमा समेत कार्यान्वयनका देखिएका समस्याहरु र सुधारका विषयहरु सुझाव प्रस्तुत गरिएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयको पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयनको अवस्था र तेस्रो रणनीतिक योजना तर्जुमा गर्दा विचार गर्नु पर्ने कुराहरुको विषयमा समुह ख को पहिलो सत्रमा सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री हरिकृष्ण कार्कीले अध्यक्षता गर्नु भएको र नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइरालाले प्रस्तुत गर्नु भएको थियो । यसै गरी समुह ग मा पूर्व महान्यायाधिवक्ता प्रा.डा. श्री युवराज संग्रौलाले अध्यक्षता गर्नु भएको थियो भने नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइरालाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमा रणनीतिक योजनाका माध्यमबाट विकास र सुधारलाई संस्थागत गर्न सकिने र रणनीतिक कार्यक्रमलाई निरन्तरता दिँदै आगामी रणनीतिक योजनाका विशिष्ट प्राथमिकता पहिचान गरी कार्यान्वयनमा लानु पर्ने कुरामा सत्रमा सघन रुपमा धारणा व्यक्त गरिएको थियो । 

समुह ग को पहिलो सत्रमा सरकारी वकील सम्मेलनमा भएका विगतका घोषणापत्रहरुको कार्यान्वयनको अवस्था विषयको कार्यपत्र प्रस्तुत भएको थियो । उक्त कार्यपत्रको सत्रमा पूर्व महान्यायाधिवक्ता श्री सुशील कुमार पन्तले अध्यक्षता गर्नु भएको र सहन्यायाधिवक्ता श्री ज्ञानप्रसाद भुसालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यसै विषयमा समुह घ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव श्री धनराज ज्ञवालीले अध्यक्षता गर्नु भएको र सहन्यायाधिवक्ता श्री चन्द्रकान्त खनालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यपत्रमा पहिलो र दोस्रो सम्मेलनबाट जारी भएका घोषणापत्रको विषय, कार्यान्वयनको अवस्था, कार्यान्वयनमा देखिएका समस्याहरुको साथै कार्यान्वयनका उपायहरुको बारेमा प्रस्तुत गर्नु भएको थियो । उल्लिखित कार्यपत्रको छलफलमा सहभागीहरुले सान्दर्भिक जिज्ञासा तथा सुझावहरु राख्नु भई कार्यपत्र प्रस्तुतकर्ताबाट सो सम्बन्धमा भनाई राखिएको र अन्त्यमा सत्रका अध्यक्षबाट सहभागीका जिज्ञासाहरुलाई ओझपूर्ण तरिकाले संवोधन गर्नु भई सरकारी वकीललाई उत्प्रेरित र हौसला प्रदान गर्नु भएको थियो ।

समूह घ को पहिलो सत्रमा अभियोजन नीति र अभियोजन सुधार वर्षका सम्बन्धमा सरकारी वकीलले ध्यान दिनु पर्ने कुरा प्रस्तुत हुने कार्यक्रम रहेकोमा पूर्व महान्यायाधिवक्ता श्री वावुराम कुँवरले अध्यक्षता गर्नु भएको र सहन्यायाधिवक्ता श्री लोकराज पराजुलीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यसै विषयमा समुह ङ को दोस्रो सत्रमा सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यस कार्यपत्रमा अभियोजनको सैद्धान्तिक पक्ष, अभियोजन नीतिको आवश्यकता र महत्वका साथै सरकारी वकीलले ध्यान दिनु पर्ने कुराहरु समेत प्रस्तुत गरिएको थियो । छलफलमा अभियोजनमा देखिएका विविध पक्षहरुमा जिज्ञासा राखिएको र देखिएका समस्याहरुलाई निराकरणका उपायहरु सुझाइएको थियो ।

त्यसै गरी समुह ङ को पहिलो सत्रमा मुलुकी अपराध संहिता, २०७४ को कार्यान्वयनको अवस्था र सुधारका क्षेत्रहरु विषयक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । उक्त सत्रको अध्यक्षता प्रा. डा. श्री रजितभक्त प्रधानाङ्गले गर्नु भएको थियो भने नायब महान्यायाधिवक्ता श्री नारायण प्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यस कार्यपत्रमा मुलुकी अपराध संहितामा भएको कानूनी व्यवस्था, यसका विशेषता, कार्यान्वयनको अवस्था र सुधारका क्षेत्रहरु उल्लेख गरिएको थियो । सहभागीहरुबाट सक्रिय रुपमा छलफलमा सहभागी भई कार्यपत्रको उद्देश्य परिपूर्तिका लागि सुधारका विषयहरु समेत प्रस्तुत गरिएको थियो । 

समुहको कार्यपत्र प्रस्तुतीकरणको सत्रहरु समापन पछि प्रत्येक समुहले सवै कार्यपत्रमा भएका छलफलका आधारमा निष्कर्ष सहितको प्रतिवेदन तयार गरेका थिए ।। सो निष्कर्ष सहितको प्रतिवेदन सवै समूहका सहभागि र पर्यबेक्षकको उपस्थितिमा प्रत्येक समूहबाट संयोजन समूहबाट प्रस्तुत गरिएको थियो । उक्त सामुहिक प्रतिवेदन प्रस्तुतीको सत्र अपरान्ह १ः३० बजे प्रारम्भ भएको थियो । सो क्रममा समुह क को तर्फबाट सहन्यायाधिवक्ता श्री रमादेवी पराजुलीले, समूह ख बाट सहन्यायाधिवक्ता श्री अच्युतमणि न्यौपानेले, समुह ग बाट सहन्यायाधिवक्ता श्री सूर्यराज दाहालले, समूह घ बाट सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मीले र समुह ङ को तर्फबाट सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मीले आ आफ्नो समुहको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । समूह प्रतिवेदनको प्रस्तुतीको सन्दर्भमा माननीय महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले संक्षिप्त टिप्पणी गर्नु भई कार्यपत्रहरुमा छलफल गरी प्रतिवेदन प्रस्तुतीकरणका लागि सबैलाई धन्यवाद दिनु भएको थियो । काम गर्दै जाँदा देखिएका कमजोरीहरुलाई निवारण गर्न यसै सम्मेलनमा प्रतिवद्धता व्यक्त भएका र खदिलो सुझाव प्राप्त भएकाले ती कमजोरीहरुलाई निराकरण गर्दै सुझावहरुलाई कार्यान्वयन गर्दै जानु पर्ने कुरा उल्लेख गर्नु भएको थियो ।  

अपरान्ह ३ः०० बजे समापन समारोहको आयोजना गरिएको थियो । समारोहको अध्यक्षता माननीय महान्यायाधिवक्ताले गर्नु भएको थियो भने प्रमुख अतिथि नेपाल सरकारका माननीय गृह मन्त्री श्री रामबहादुर थापा बादल रहनु भएको थियो । यसै गरी विशेष अतिथिका रुपमा माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङफे रहनु भएको थियो । नेपाल बार एशोसिएसनका महासचिव श्री लिलामणी पौड्याल उक्त कार्यक्रममा अतिथिको रुपमा रहनु भएको थियो ।

आसन ग्रहणको कार्यक्रम पश्चात सम्मेलनको उपलब्धि स्वरुप निकालिएको निष्कर्षलाई २३ बुँदे घोषणापत्रको रुपमा नायब महान्यायाधिवक्ता श्री नारायण प्रसाद पौडेलले प्रस्तुत गर्नु भएको थियो । प्रस्तुतीकरण पश्चात सहभागीहरुबाट अनुमोदन गरिएको थियो । घोषणापत्रमा संहिता कानूनको कार्यान्वयनमा एकरुपता ल्याउने प्रतिवद्धता व्यक्त गरिएको थियो । विभिन्न कानूनमा एकरुपता कायम हुनु पर्ने, अभियोजन सम्बन्धी कार्यलाई  थप वस्तुगत र वैज्ञानिक प्रमाणमा आधारित बनाउन विद्यमान अभियोजन नीति र मार्गदर्शनलाई पुनरावलोकन गरी अभियोजन नीति र मार्गदर्शन जारी हुने, सेवा शर्त सम्बन्धी कानून जारी हुने भन्ने कुरामा विश्वास, सरकारी वकीलको रुपमा गरिएको कार्य अनुभवलाई कानून व्यवसाय गरेको अनुभवको रुपमा समेत गणना गर्नु पर्ने, अनुसन्धानकर्ता र अभियोजनकर्ताहरुको समन्वयलाई अझ प्रभावकारी बनाउनु पर्ने, फरक मुद्दा व्यवस्थापन पद्दतिलाई कार्यान्वयनमा ल्याउन सरकारी वकीलको सहयोग रहने, अभियोजनकर्ताको लागि सर्वस्वीकृत अन्तर्राष्ट्रिय मापदण्ड, राष्ट्रिय कानून एवं न्यायिक अभ्यासबाट विकसित भएका सिद्धान्त र मान्यता एवं सरकारी वकीलको आचार संहितालाई अझ प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन प्रतिवद्ध रहेको, विधिविज्ञान प्रयोगशालाको सुदृढीकरण गर्ने, सार्वजनिक हितको संरक्षण, दिशान्तर सम्बन्धी व्यवस्थामा सुधार, रणनीतिक योजनाको निर्माण र कार्यान्वयन तथा घोषणापत्रको कार्यान्वयन समेतका विषय घोषणापत्रमा उल्लेख भएका छन् ।

समापन कार्यक्रमकै क्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने १० जना सरकारी वकील तथा कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने घोषणा गरियो । उत्कृष्ट हुने सरकारी वकील तथा कर्मचारीहरुलाई प्रमुख अतिथि माननीय गृहमन्त्रीज्यूले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयोे । सम्मेलनका सहभागी सरकारी वकील मध्ये जिल्ला न्यायाधिवक्ता श्री शान्ति न्यौपाने र जिल्ला न्यायाधिवक्ता श्री उमाकान्त पौडेलले सम्मेलनका सम्बन्धमा मन्तव्य राख्नु भएको थियो । सम्मेलनमा सान्दर्भिक विषय, सत्रका अध्यक्ष र प्रस्तुतकर्ताको उपयुक्त छनोट, सम्मेलनको विद्युतीय माध्यमबाट व्यवस्थापन, सम्मेलनमा तोकिएका विशिष्टिकृत विषयका कार्यपत्रहरुबाट क्षमता अभिवृद्धि भएको, उक्त विषयमा पुनरर्ताजगी भएको, अभ्यासमा स्पष्ट धारणा बनाउन सकिएको र सो अनुसार कार्य सम्पादन गरिने उल्लेख गर्दै कार्य सम्पादनका क्रममा आफूहरुलाई परिष्कृत गर्दैै लैजाने धारणा समेत राख्नु भएको थियो । पर्यवेक्षकको तर्फबाट नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक श्री मुकुन्दराज आचार्यले मन्तव्य राख्नु हुदै सरकारी वकीलको राष्ट्रिय सम्मेलन, प्रादेशिक सम्मेलन समेतबाट नेपाल प्रहरीले समेत सहभागिता जनाउने अवसर प्राप्त गरेको, यसबाट अनुसन्धान र अभियोजनमा देखिएका कमजोरीहरुलाई पहिचान र वोध गर्न सहज भएको, त्यसले आगामी दिनमा कार्य प्रभावकारिता आउने देखिएको, यसबाट प्रहरी र सरकारी वकील वीच समन्वय, सम्पर्क र सहकार्य दरिलो रुपमा हुने देखिएको भन्ने धारणा राख्नु भएको थियो ।

पुरस्कृत सरकारी वकील तथा कर्मचारीहरुका तर्फबाट आर्थिक वर्ष २०७७।०७८ को वर्ष सरकारी वकीलका रुपमा पुरस्कृत हुनु हुने सहन्यायाधिवक्ता श्री श्याम कुमार भट्टराईले मन्तव्यका क्रममा आफू तथा पुरस्कृत हुनेहरुको तर्फबाट आगामी दिनमा समेत अझ उच्च मनोबलका साथ कार्य गर्ने प्रण समेत व्यक्त गर्नु भयोे । उहाँले तोकिएको जिम्मेवारीलाई विवेकसम्मत रुपमा सम्पादन गर्ने प्रयास गरिएको, सरकारी वकीलको आचरण तथा स्वीकृत मापदण्ड भित्र रही कार्य सम्पादन गरेको, रणनीतिक योजना बनाई सो अनुसार कार्य गरेको र त्यसको समुच्चा प्रगति विवरणको अभिलेख हामीसँग रहेको भन्ने कुरा उल्लेख गर्नु भएको थियो । मन्तव्यका क्रममा अतिथिको भूमिकाबाट नेपाल बार एशोसिएसनका महासचिव श्री लिलामणी पौड्यालले सरकारी वकीलको विगत र वर्तमानको अवस्था सम्बन्धमा प्रकाश पार्नु भई भविष्यमा गर्नु पर्ने सुधारका कार्यहरु समेत सुझावका रुपमा प्रस्तुत गर्नु भएको थियो ।

समापन समारोहका प्रमुख अतिथि माननीय गृह मन्त्री श्री राम बहादुर थापा बादलले वस्तुनिष्ठ र प्रमाणमुखी अनुसन्धानका जगमा गरिने प्रभावकारी अभियोजनबाट मात्र फौजदारी न्याय प्रणालीको सफलता हासिल हुन सक्ने कुरा उल्लेख गर्नु भएको थियो । यसै क्रममा कानूनी कारवाहीको माध्यमबाट फौजदारी कसूरको शंकित व्यक्तिलाई न्यायको दायरामा ल्याउने र सजाय दिलाउन अपनाइने उपाय नै अभियोजन हो भनी अभियोजन प्रकृयालाई प्रष्ट पार्नु भएको थियो । वस्तुनिष्ठ अभियोजन हुन सके मात्र पीडितले न्याय र दोषीले सजाय पाउने र समाजमा शान्ति र सुव्यवस्था कायम भई फौजदारी न्यायको उद्देश्य पूरा हुने कुरामा विश्वास व्यक्त गर्नु भएको थियो । सरकारी वकीलले गर्ने अभियोजन तथा कार्य सम्पादनमा स्वच्छता, एकरुपता, तर्कसम्मत र कानूनसम्मत हुनु पर्ने कुरामा जोड दिनु भएको थियो । सरकारी वकीलबाट हुने हरेक अभियोजन अभियोजन नीति बमोजिम हुन आवश्यक समेत रहेको औंल्याउनु भयो । सरकारी वकीलहरु फौजदारी न्यायप्रणालीको मेरुदण्डको रुपमा रहने र सरकारी वकीलबाट हुने प्रभावकारी अभियोजन र प्रतिरक्षाबाट नै फौजदारी न्यायप्रणाली सफल रहनेमा कुनै द्विविधा रहेको छैन भन्दै अपराधको अनुसन्धान गर्ने अनुसन्धानकर्ता प्रहरी र अभियोजन गर्ने सरकारी वकील विच अन्योन्याश्रित सम्बन्ध रहेको कुरा समेत उल्लेख गर्नु भएको थियो । यी दुई निकायविच व्यावसायिक र कार्यगत सम्बन्धमा नै फौजदारी मुद्दाको सफलता अढेको हुने कुरा समेत राख्नु भएको थियो । अपराधको नियन्त्रण, अभियुक्तलाई सजाय र पीडितलाई राहत एवं क्षतिपूर्ति सहितको न्याय व्यवस्थाबाट मात्र फौजदारी न्याय प्रशासनले जीवन्तता र जनविश्वास हासिल गर्न सक्ने, यसबाट मात्र समाजमा शान्ति सुव्यवस्था कायम हुने र कानूनी राज्यको अवधारणा साकार हुने कुरा समेत सारगर्वित रुपमा प्रस्तुत गर्नु भएको थियो । प्रभावकारी अभियोजन लगायत सरकारी वकीलको कार्य सम्पादनमा आईपर्ने हरेक समस्याहरुमा सयोग गर्न सरकार सदा तत्पर रहेको कुरामा विश्वास दिलाउनु भएको थियो । अन्त्यमा, सरकारी वकीलहरुको तेस्रो राष्ट्रिय सम्मेलन, २०७७ को पूर्ण सफलताको कामना गर्दै हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

समापन समारोहमा माननीय महान्यायाधिवक्ताज्यूबाट प्रमुख अतिथिज्यू र विशेष अतिथिज्यूलाई सम्मेलनको स्मृतिको चिनो प्रदान गर्नु भएको थियो ।

समारोहलाई माननीय महान्यायाधिवक्ताज्यूबाट समापन गरिएको थियो । सम्मेलनमा उद्घोष् गरिएका घोषणापत्रहरु कतिपय सरकारी वकीलले गर्नु पर्ने, कतिपय कुराहरु अनुसन्धानकर्ताले गर्नु पर्ने, कतिपय कुराहरु कानून निर्माण गर्ने निकायले गर्नुपर्ने, अनुसन्धनकर्ताको बारेमा गर्नुपर्ने सुधारका सन्दर्भमा गृहमन्त्रीज्यू र कानूनमा गर्नु पर्ने सुधारका सन्दर्भमा कानूनमन्त्रीज्यू समक्ष निवेदन गर्नु भएको थियो । सम्मेलनमा मुलुकी अपराध संहिता समेतका नयाँ कानूनको कार्यान्वयनको अवस्था र सुधारका क्षेत्रहरु, रणनीतिक योजनाको कार्यान्वयन, विगतका घोषणापत्रहरुको कार्यान्वयनको अवस्था, अभियोजन नीति र अभियोजन सुधारको सन्दर्भमा सरकारी वकीलले ध्यान दिनु पर्ने कुराहरु जस्ता विषयमा केन्द्रित रही विभिन्न ६ वटा कार्यपत्रहरु प्रस्तुत भएको उल्लेख गर्नु भएको थियो । प्रत्येक सत्रको अध्यक्षता न्याय तथा कानून क्षेत्रका विज्ञज्यूहरुबाट भएकोले अपराध अनुसन्धान, अभियोजन एवं न्याय निरुपणमा उठेका ससाना समस्याहरु देखी जटिल प्रश्नहरुमा समेत यथेष्ट छलफल भएको कुरामा समेत विश्वस्त गराउनु भएको थियो । सम्मेलनमा भएको छलफलले साझा धारणा निर्माण गर्न मद्दत पुगेको र भावी कार्य सम्पादनमा एकरुपता आई कार्यविधिगत द्विविधाको निराकरण हुने विश्वास समेत व्यक्त गर्नु भएको थियो । अभियोजनको कार्य स्वतन्त्र र स्वायत्त अधिकारक्षेत्र भित्रको कार्य भएको हुँदा व्यावसायिक कुशलतापूर्वक, वस्तुनिष्ठ र वैज्ञानिक प्रमाणको आधारमा निर्भिकतापूर्वक अभियोजन गर्न सम्पूर्ण अभियोजकर्तालाई निर्देशन समेत प्रदान गर्नु भएको थियो । कार्यसम्पादनमा लापरवाही र उदासिनतालाई छुट नदइिने कुरामा समेत सचेत रहन आग्रह गर्नु भएको थियो । कार्यसम्पादनमा सकारात्मक सुधार मार्फत संस्थागत सुधारमा केन्द्रित रहन समेत अनुरोध गर्नु भएको थियो । पीडितलाई न्याय र कसूरदारलाई सजाय दिलाउने सरकारी वकीलको संवैधानिक तथा कानूनी जिम्मेवारी हो भन्ने कुरामा समेत केन्द्रित हुन अनुरोध गर्नु भएको थियो । अन्त्यमा मार्गदर्शक मन्तव्य राखि दिनु हुने प्रमुख अतिथि माननीय गृहमन्त्रीयज्यूप्रति हार्दिक आभार प्रकट गर्नु भएको थियो । यसै गरी विशेष अतिथि कानून, न्याय तथा संसदीय मामिला मन्त्रीज्यू तथा अतिथिका रुपमा हुनु हुने नेपाल बार एशोशिएसनका महासचिवप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो । साथै, सम्मेलन सञ्चालनमा सहयोग पुर्याउनु हुने कर्मचारीहरु, सम्वद्ध सबै सरोकारवाला निकायहरु, पर्यवेक्षक, सञ्चारकर्मी र सुरक्षाकर्मीप्रति हार्दिक आभार ज्ञापन गर्नु हुँदै सम्मेलनलाई विधिवत रुपमा समापन गरिएको थियो ।

सम्मेलनबाट पारित भएको घोषणापत्रको पूर्ण पाठ यस कार्यालयको वेभपेजमा अपलोड गरिएको छ ।

 

धन्यवाद ।  

 

मितिः २०७७ पौष १० गते ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

सम्पत्ति शुद्धीकरण निवारण तथा अन्य केही ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८० ।


सुझाव पेस गर्ने सम्बन्धी सुचना ।


प्रोवेशन तथा प्यारोल सम्बन्धी नीति, २०८० सम्बन्धमा ।


फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३८ बमोजिम गठीत संघिय प्रोेवेशन तथा प्यारोल बोर्डमा रहनु भएका पदाधिकारीहरुको विवरण


कैदीलाई प्रोवेशन तथा प्यारोलमा राख्ने मापदण्ड तथा प्रोवेशन तथा प्यारोलमा छुट्ने कसूरदारले पालना गर्नुपर्नै मापदण्ड तथा शर्तहरु, २०८०


वैदेशिक अध्ययन/तालिम छात्रवृृ्र्तिमा मनोनयन गर्ने सम्वन्धमा


सेवा विस्तारको जानकारी सम्बन्धमा ।


वैदेशिक अध्ययन/तालिम छात्रवृृ्त्तिमा मनोनयन गर्ने सम्बन्धमा


सरकारी वकीललाई छात्रवृत्तिमा स्नातकोत्तर अध्ययनको निम्ति Scholarship Profile सम्बन्धमा ।


पर्वतारोहण सम्पर्क अधिकृत अनुस्थापन सम्बन्धमा ।


समाचार

नेपाल र भारतका महान्यायाधिवक्ताबीच शिष्टाचार भेट वार्ता ।


आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदनको सारसंक्षेप ।


भारतका लागि विद्धान महान्यायावादी श्री आर. भेङ्कटारमनीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सञ्चालन ।


केन्द्रिय कारागार कार्यालय, जगन्नाथदेवलमा Smart TV हस्तान्तरण गर्दै ।


विधि विज्ञान विज्ञहरुसँग छलफल कार्यक्रम ।


लैङ्गिक हिंसाको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्याय सम्पादनमा संलग्न अधिकारी बीचको अन्तरक्रिया कार्यक्रम ।


बाल न्याय तथा दिशान्तरको सन्दर्भमा प्रादेशिक अन्तरक्रिया कार्यक्रम ।


सजायमा छुट दिने मागदावी सम्बन्धी निर्देशिका, २०८० कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रम ।


बधाई ज्ञापन सहित सफल कार्यकालको शुभकामना सहितको बिदाई कार्यक्रम ।


काठमाण्डौ जिल्लाका माननीय जिल्ला न्यायाधीशहरु, सरकारी वकीलहरु र बारका पदाधिकारीहरु वीचको अपराध अनुसन्धान र अभियोजनमा सुधार सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम ।