समुदाय-प्रहरी साझेदारी र समुदायमा सरकारी वकील कार्यक्रम

samachar

2076-8-4

समुदाय-प्रहरी साझेदारी र समुदायमा सरकारी वकील कार्यक्रम

विशेष सरकारी वकील कार्यालय, काठमाडौंले यही २०७६/०८/०४ गतेका दिन काठमाडौं जिल्ला टोखा न.पा. वडा नं. ७ धापासीमा समुदाय-प्रहरी साझेदारी र समुदायमा सरकारी वकिल कार्यक्रम भव्यतासाथ सम्पन्न गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको सहकार्यमा आयोजित उक्त कार्यक्रममा वैदेशिक रोजगार ठगी र बैकिंङ्ग कसूरमा केन्द्रित भई बृहत अन्तरक्रिया गरिएको थियो ।

धापासीस्थित साउथ वेस्टर्न कलेजको सभाहलमा आयोजित सो कार्यक्रममा वैदेशिक रोजगार कम्पनी सञ्चालक, कम्पनी सम्बद्ध पदाधिकारीहरु, बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा पदाधिकारी, जनप्रतिनिधिहरु, अनुसन्धानकर्ता प्रहरी, सरकारी वकिल,  विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार र विद्यार्थीहरु समेतको उपस्थिति थियो ।

सहभागीहरुको पश्नको जवाफ दिनुहुँदै विशेष सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता मुरारीप्रसाद पौडेलले वित्तीय ठगी र अपचलनमा नयाँ शैलीहरु देखा परेको भन्दै वैदेशिक रोजगार ठगी र बैंकिङ कसूरसम्बन्धी अपराध न्यूनीकरणमा समुदायको ठूलो भूमिका हुने बताउनुभयो । नेपालभरिका वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा चल्ने नचल्नेसम्बन्धी निर्णय र त्यस्ता मुद्दामा प्रतिरक्षा तथा काठमाडौं उपत्यका भित्रका बैंकिङ कसूरसम्बन्धी मुद्दाको अनुसन्धान र अभियोजन समेतमा विशेष सरकारी वकिल कार्यालयले प्रत्यक्ष संलग्न रही काम गर्दै आएको उहाँले बताउनु भयो। समाजमा अनेक खालका आर्थिक अपराधहरु बढ्दै जाँदा त्यसले सामाजिक सम्बन्धमा नै विखण्डन पैदा गरेको भन्दै उहाँले मानवीय संवेदनाको रक्षा र कानूनी शासनको प्रत्याभूतिका लागि त्यस्ता कसूरको नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।उहाँले वैदेशिक रोजगार र बैकिङ कसूरसम्बन्धी उजुरी सम्बन्धित निकायमा परिसकेपछि त्यसको कानूनसम्मत समाधान पनि हुनुपर्ने बताउनुभयो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक उत्तमराज सुवेदीले वैदेशिक रोजगार ठगीको कसूर गर्ने कार्यमा समुदायका जिम्मेवार मानिसहरु नै संलग्न रहेको पाइएको बताउनुभयो । सामाजिक सञ्जालको दुरुपयोगबाट समेत यस्ता ठगी बढेको भन्दै उहाँले वैदेशिक रोजगार र अध्ययनका नाउँमा ठगी गर्ने गरेको अवस्थामा प्रहरीले त्यसलाई कडाइसाथ निगरानी गरेको जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै समुदाय प्रहरी साझेदारीका संयोजक एवं टोखा नगरपालिका वडा नं ७ का वडाध्यक्ष नरोत्तम राणाले शैक्षिक बेरोजगारहरुको संख्या बढ्दै जाँदा वित्तीय ठगीका कसूरहरु पनि बढेको बताउनुभयो । उक्त कार्यक्रममा  वैदेशिक रोजगार ठगी र बैकिङ कसूरबारे सरकारी वकिलको भूमिका र अपेक्षा विषयक कार्यपत्र प्रस्तुत गर्दै विशेष सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता सुवासकुमार भट्टराईले सरकारी वकिलले  वित्तीय कसूरको अनुसन्धानमा अनुसन्धानकर्तालाई आवश्यक निर्देशन दिदै अभियोजनलाई समेत बलियो पार्दै आएको बताउनुभयो । महानगरीय प्रहरी परिसर, टेकूका प्रहरी नायव उपरीक्षक कृष्णबहादुर चन्दले प्रहरीमा सबैभन्दा बढी उजुरीको चाप वित्तीय कसूरमा रहेको जानकारी दिदै वैदेशिक रोजगार ठगी र बैकिङ कसूरका छुट्टाछुट्टै शाखा स्थापना गरी यस प्रकृतिका कसूरहरूको प्रहरीले अनुसन्धान गर्दै आएको र कानूनी दायरामा ल्याएको बताउनुभयो ।

सहभागीहरुका तर्फबाट वैदेशिक रोजगार संघका उपाध्यक्ष हरिबहादुर पाण्डेले वैदेशिक रोजगारसँग असम्बन्धित मुद्दा पनि वैदेशिक रोजगार विभागमा दर्ता भएको भन्दै त्यसमा अनुसन्धानकर्ता सजग हुनुपर्ने बताउनुभयो।वैदेशिक रोजगार व्यवसायी भीमप्रसाद गौतमले वैदेशिक रोजगार व्यवसाय सञ्चालकले ठगी गरेको नभई सञ्चालकका नाममा बद्नामी गर्ने गरेको पाइएकोले यससम्बन्धी अभियोजनको व्यवस्थापन प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।अन्तरक्रियामा सहभागीहरुले वित्तीय कसूर देवानी र फौजदारी दुवै दायित्व बहन गर्नुपर्ने खालको भएको हुँदा यसको नियन्त्रणमा कानून कार्यन्वयन गर्ने निकाय र समुदाय सबैको सहयोग र हातेमालो अत्यावश्यक रहेकोमा जोड दिएका थिए भने यस किसिमका कार्यक्रमले सर्वसाधारण जनता र पीडितहरुलाई जागरुक र सचेत रहन मद्दत पुग्ने हुन्छ साथै समाजमा शान्ति स्थापना गर्न समेत मद्दत गर्दछ भन्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रमका केही झलकहरुः

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सहन्यायाधिवक्ता मुरारीप्रसाद पौडेल

मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरिक्षक


संलग्न जोडिएका विवरणहरु

प्रतिवेदन download
सूचना

मिलापत्रका लागि आवश्यक ढाँचा तथा कागजजातः


विशेष सरकारी वकील कार्यालयको आ व २०७८-७९ को वार्षिक प्रतिवेदन।


बैकिंङ कसुर मुद्दाको मिलापत्र निवेदनको फर्मेट।


विशेष सरकारी वकील कार्यालय संग सम्बन्धित चालु आ.व. २०७८।०७९ को श्रावणदेखी माघ मसान्तसम्मको अदालत तथा न्यायाधिकरणमा मुद्धा दर्ताको विवरण


सवारी खरिद सम्बन्धी सिलबन्दी बोलपत्र आव्हान गरिएको सूचना।


सवारी खरिद सम्बन्धी सिलबन्दी बोलपत्र आव्हान गरिएको सूचना।


दशैँ विदामा कर्मचारी खटाइएको


विशेष अदालतमा साक्षी बकपत्र स्थगनसम्बन्धी सूचना


उपन्यायाधिवक्ता श्री पदमबहादुर कार्कीको विदाइ कार्यक्रम


कार्यालयमा कामकाज गर्ने गरी कर्मचारी खटाइएको सम्बन्धमा