• समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न

परिचय

बझाङ्ग जिल्ला नेपालको सुदूरपश्चिम  प्रदेश अन्तर्गत सेती अञ्चलमा अवस्थित पाँच जिल्ला मध्ये एक हिमाली जिल्ला हो।  यहाँ २ नगरपालिका र १० गाउँपालिकाहरु रहेको र यस जिल्लाको जिल्ला सदरमुकाम चैनपुर रहेको छ।   बझाङ्ग जिल्लाको कुल क्षेत्रफल ३४२२ वर्ग किलोमिटर रहेको छ। यो जिल्ला समुद्री सतहबाट ३००० फिटको रायल गाविसको देउरा देखि २३००० फिट (९१५ मि. देखि ७०३५ मी.)को काँडा गाविसको साइपाल हिमालसम्मको विविधतायुत्त उचाइमा रहेको छ।बझाङ्ग जिल्ला हावापानीका दृष्टिले विविधतायुत्त रहेको छ। हिमाली जिल्लाको रुपमा रहेको यस जिल्लको ६० प्रतिशत भूभाग शीत प्रदेश, ३० प्रतिशत भूभाग समशितोष्ण र बाँकी १० प्रतिशत भूभाग उपोष्ण प्रदेशमा पर्दछ। बझाङ्ग जिल्लाको पूर्वमा बाजुरा र हुम्ला जिल्ला‚ पश्चिम मा बैतडी र दार्चुला‚ उत्तरमा हुम्ला र तिब्बत ‚ दक्षिणमा बैतडी र डोटी जिल्लाहरु पर्दछन्। यहाँका का प्रमुख हिमालहरुमा साइपाल हिमाल, आर्या हिमाल, जेठी-बहुरानी हिमाल, नाम्पा हिमाल, योगा हिमाल, व्याँस हिमाल, उरइ-भञ्ज्याँग हिमाल, राक्से हिमाल, दुवै- भञ्ज्याँग हिमाल, राइढुंगी- भञ्ज्याँग हिमाल पर्दछन्। यहाँका प्रमुख नदीनालाहरुमा सेती, कालंगा, बाहुलीगाड, तारुगाड, सुनीगाड, तल्कोटीगाड, थलारीगाड, जडारीगाड, भ्यागुतेगाड, लिस्तीगाड, घाटगंगा, डिलगाड, विडीगाड, गनईगाड पर्दछन्। प्रमुख तालहरुमा सूर्मा सरोवर, खप्तड ताल, तिमा दह, लोकुन्डा ताल, नीलसिरी कुन्ड, उराइ ताल, माझा ताल, खपर दह पर्दछन्। प्रमुख धार्मिक क्षेत्र तथा मठमन्दिर सुर्मादेवी मन्दिर, माइकाथान, खप्तडबाबा कुटी, सहस्रलिंग, खापरमाणु, मष्टामाणु, नवादेवमाणु, कालिका, नाननदेव, वडीज्यावल बाह्रदेउ मन्दिर। जिल्ला सरकारी वकील कार्यालय ज.न.पा.१० चैनपुर‚ खुलामञ्च स्थित रहेको छ। यो कार्यालय जिल्ला अदालत भन्दा करीव २०० मिटर टाढा रहेको छ।