2081-6-6
सुर्खेत, २०८१ असोज ०४ गते - जिल्ला सरकारी वकील कार्यालय सुर्खेतको सभाहलमा सरकारी वकील र अनुसन्धान अधिकारीबीच एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अपराध अनुसन्धानमा वकील र अनुसन्धान अधिकारीबीचको सहकार्यलाई अझ सुदृढ बनाउने र न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउने बिषयमा गहन छलफल भएको थियो। कार्यक्रममा सरकारी वकीलहरुले अनुसन्धान अधिकारीहरुलाई प्रमाण संकलन, प्रमाणहरुको महत्व र कानूनी प्रक्रियामा सम्बन्धी प्रावधान बारे स्पष्ट पार्दै अनुसन्धानका क्रममा देखिने चुनौतीहरु बारे जानकारी गराउनु भएको थियो। यससँगै अनुसन्धान अधिकारीहरुले अनुसन्धानका क्रममा देखिने व्यावहारिक कठिनाई र जटिलताहरु बारे वकीलहरुसँग अनुभव साटासाट गर्नु भएको थियो। कार्यक्रममा प्रमूख अतिथि रुद्रप्रसाद पन्थी ज्यूले अनुसन्धान र अभियोजन कार्यमा आपसी समन्वय, सहकार्यमा मात्र न्याय प्रणाली सम्बन्धी काम प्रभावकारी हुने बताउँदै हामी सबैको एउटै लक्ष्य तथा उद्देश्य रहेको फरक फरक जिम्मेवारी बोकेका निकाय भएकोले दुबै पक्षबीच सुसंवाद र सहयोग आवश्यक रहेको कुरामा जोड दिनु भयो। कार्यक्रमको अन्त्यमा जिल्ला सरकारी वकील कार्यालय सुर्खेतका कार्यालय प्रमूख डम्बर प्रसाद काफ्ले ज्यूले यस किसिमको अन्तरक्रिया कार्यक्रमले अनुसन्धान प्रकियामा देखिने कमी कमजोरीहरु हटाई न्याय सम्पादनलाई छिटो, छरितो, निष्पक्ष र बिश्नसनीय बनाई पीडकलाई सजाय र पीडितलाई न्याय दिनु हामी सबैको अभिष्ट रहेको बताउनु भयो। कार्यक्रममा विभिन्न अनुसन्धान निकायका अनुसन्धान अधिकारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।