सरकारी वकीलको कामकारवाही बारे २०७६ असोज ८ गते पत्रकारसँग अन्तरक्रिया ।

samachar

2076-8-18

सरकारी वकीलको काम कारबाहीबारे पत्रकारसँग अन्तरक्रिया

जुम्ला, असोज ८

उच्च सरकारी वकील कार्यालय जुम्ला र जिल्ला सरकारी वकील कार्यालय जुम्लाले सरकारी वकीलको काम कारबाही बारे पत्रकारहरुलाई जानकारी गराउन २०७६ असोज ८ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पत्रकारहरुको जिज्ञाशाको जवाफ दिंदै उच्च सरकारी वकील कार्यालय, जुम्लाका निमित्त सहन्यायाधिवक्ता पुण्यप्रसाद पाठकले सरकारवादी मुद्दा सफल बनाउन उपयुक्त जाहेरी, सबुत प्रमाणको उचित संकलन, अनुसन्धानमा नविनतम प्रविधिको प्रयोग, अनुसन्धान अधिकृतको विज्ञताको प्रयोग, साक्षीहरु तथा पिडितको उपयुक्त वकपत्र र सुरक्षा, उपयुक्त अभियोजनप्रभावकारी वहस पैरवी र प्रतिरक्षा हुनुपर्ने बताउनुभयो ।

निमित्त सहन्यायाधिवक्ता पाठकले भन्नुभयो, “गलत जाहेरी, अनुपयुक्त अनुसन्धान र पिडित र साक्षीको प्रतिकुल वकपत्र, गलत अभियोजन, कमजोर वहस पैरवी र प्रतिरक्षाका कारण सरकारवादी मुद्दा असफल हुने गरेका छन् ।

निमित्त जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर खत्रीले जिल्ला सरकारी वकील कार्यालय जुम्लालाई कर्णाली प्रदेशबाट चालु आर्थिक वर्षमा महान्यायाधिवक्ताको कार्यालयबाट नमूना सरकारी वकील कार्यालयको रुपमा काम काज गर्ने गरी घोषणा गरिएको जानकारी दिनुभयो ।

उहाँले नमूना सरकारी वकील कार्यालयहरुबाट सम्पादन हुने कामहरु छिटो छरितो रुपमा सूचना प्रविधिको अधिकतम प्रयोग गरिनुका साथै पीडित मैत्री र पारदर्शी हुने लगायतका १६ वटा वुँदाहरुमा उल्लेख भएको बताउनुभयो ।

कार्यक्रममा सरकारवादी मुद्दाको अनुसन्धान र अभियोजनको अवस्था र सरकारी वकीलको काम कारबाहीबारे जानकारी गराइएको थियो ।

उच्च अदालत सुर्खेत जुम्ला इजलासमा आर्थिक वर्ष २०७४/०७५ मा पुनरावेदन गरी फैसला भएका ४९ वटा सरकारवादी मुद्दामा सरकारको पक्षमा २ वटा मुद्दा उल्टी भएको छ भने प्रत्यर्थीको पक्षमा ५ वटा मुद्दा उल्टी भएको छ । यसैगरी रिट निवेदन १६ वटा रहेकोमा निवेदकको पक्षमा ३ वटा रिट जारी भएको छ । ९ वटा रिट खारेज भएको  छ । ३ वटा रिट निवेदन फिर्ता भएको उच्च सरकारी वकील कार्यालय, जुम्लाले जनाएको छ ।

यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा उच्च अदालत सुर्खेत जुम्ला इजलासमा पुनरावेदन गरी फैसला भएका ६० वटा सरकारवादी मुद्दामा सरकारको पक्षमा ९ वटा मुद्दा उल्टी भएको छ भने प्रत्यर्थीको पक्षमा ३ वटा मुद्दा उल्टी भएका छन् । यसैगरी रिट निवेदन ८ वटा रहेकोमा निवेदकको पक्षमा ३ वटा रिट जारी भएको छ । 

जिल्ला सरकारी वकील कार्यालय, जुम्लाले आर्थिक वर्ष २०७५/०७६ मा जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा दायर गरेका १३१ वटा मुद्दामा ७२ वटा मुद्दाको फैसला भएको छ ।  फैसला भएका ७२ वटा मुद्दा मध्ये ६१ वटामा कसूर कायम भएको छ । ८ वटा मुद्दा असफल भएका छन् । ३ वटा मुद्दा मुलतवीमा रहेको जानकारी दिइयो ।

उक्त अन्तरक्रिया कार्यक्रमको सञ्चालन उच्च सरकारी वकील कार्यालय, जुम्लाका शाखा अधिकृत नगेन्द्र लम्सालले गर्नुभएको थियो ।

 

 


संलग्न जोडिएका विवरणहरु

No Attachments