भ्रष्टाचार मुद्दाका सन्दर्भमा सम्बद्ध निकायहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

samachar

2076-10-20

विशेष सरकारी वकिल कार्यालय, काठमाडौंको आयोजनामा मिति २०७६।१०।१७ गते काठमाडौंमा “भ्रष्टाचार मुद्दाका सन्दर्भमा सम्बद्ध निकायहरूबीच अन्तरक्रिया कार्यक्रम” सम्पन्न भयो ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री नवीनकुमार घिमिरेले गत वर्ष अख्तियारका मुद्दाको सफलता ८८.२४ प्रतिशत रहेको उल्लेख गर्दै अख्तियारको पुनर्संरचना नयाँ आउन लागेको ऐनले सम्बोधन गर्ने हुँदा विशेष सरकारी वकिल कार्यालयको प्रभावकारिता अभिवृद्धि हुनुपर्नेमा जोड दिनुभयो।उहाँले नयाँ आउने ऐनमा अनुचित कार्य पनि समावेश गर्न र अख्तियारको कार्यक्षेत्र विस्तार गर्नेतर्फ पनि ध्यान दिएको  बताउनुभयो । उहाँले आगामी दिनमा विशिष्टीकरणको तालिममा समावेश गरेर  आयोग र विशेष सरकारी वकिल कार्यालयबीच थप समन्वय वृद्धि गरिने जानकारी दिनुभयो । 

कार्यक्रमका अध्यक्ष माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलले मुद्दाको प्रकृति, संख्या र सरकारी वकिलको संख्याबीच तालमेल मिलाउन महान्यायाधिवक्ताको कार्यालयले ध्यान दिन थालेको बताउनुभयो । विशेष सरकारी वकिल कार्यालयको कार्यचापका आधारमा थप जनशक्ति खटाउन आफूले कार्य गरिरहेको समेत उहाँले जानकारी दिनुभयो । साक्षी सुरक्षाको प्रमुख जिम्मेवारी राज्यले नै लिनुपर्ने भन्दै उहाँले यसलाई प्राथमिकताकासाथ उठाउनुपर्ने अवस्था रहेको बताउनुभयो । भ्रष्टाचारसमेतका विशेष प्रकृतिका मुद्दाको व्यवस्थापनका लागि महान्यायाधिवक्ताको कार्यालयले आवश्यक सम्बोधन गर्दै जाने व्यहोरासमेत सो अवसरमा उल्लेख गर्नुभएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा श्री गणेशराज जोशीले आयोगलाई प्राप्त उजुरीमध्ये ८ प्रतिशतमात्र मुद्दाको अनुसन्धान हुने गरेको जानकारी दिँदै साक्षी संरक्षणसम्बन्धी छुट्टै ऐन ल्याएर मुद्दाको प्रभावकारितामा जोड दिनुपर्ने अवस्था रहेको बताउनुभयो । आयोगका माननीय आयुक्त डा श्री सावित्रा थापा गुरुङले आयोग र विशेष सरकारी वकिल कार्यालयको बुझाइमा एकरूपता हुनुपर्ने अवस्था रहेको बताउँदै समन्वय र सहकार्यको माध्यमबाट अनुसन्धान र अभियोजन प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । आयोगका सचिव श्री महेश्वर न्यौपानेले अनुसन्धान अधिकृतको कार्यचाप बढी रहेको तथा उजुरकर्तालाई दबाब, प्रभाव र डरत्रासबाट मुक्त हुने अवस्था सिर्जना गर्नुपर्ने अवस्था रहेको मन्तव्य सो अवसरमा राख्नुभएको थियो । नायब महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेले मुद्दामा सफलता प्राप्त गर्न अनुसन्धान बलियो हुनुपर्ने भएकोले अनुसन्धान अधिकृतहरूलाई पर्याप्त तालिम आवश्यक रहेको बताउनुभयो । अनुसन्धानकर्ताको राय उसको पृष्ठभूमिले फरक पार्ने गरेको अवस्था पनि रहेको भन्दै उहाँले पर्याप्त आधारबिना कोही कसैउपर मुद्दा चलाउन नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै विशेष सरकारी वकिल कार्यालय, काठमाडौंका सहन्यायाधिवक्ता श्री मुरारीप्रसाद पौडेलले भ्रष्टाचार मुद्दामा सरोकारवाला निकायहरूबीच सहकार्य र समन्वयमा जोड दिनुपर्ने आवश्यकता महशुस गरी कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उक्त कार्यक्रममा सहन्यायाधिवक्ता पौडेलले  भ्रष्टाचारसम्बन्धी मुद्दाको बहस, पैरवी र प्रतिरक्षाको अवस्था र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहन्यायाधिवक्ता श्री  गोपालप्रसाद रिजालले भ्रष्टाचारजन्य कसूरको अनुसन्धानका चुनौती र सुधारका प्रयासहरू विषयक छुट्टाछुट्टै कार्यपत्रहरु पेश गर्नुभएको थियो । विशेष सरकारी वकिल कार्यालयमा विशेष, वाणिज्य, राजश्व र वैदेशिक रोजगार मुद्दा शाखाहरु रहनुका साथै गत वर्षको तथ्याङ्कअनुसार प्रति सरकारी वकिल २४३ थान मुद्दाको कार्यचाप रहेको व्यहोरा कार्यपत्र प्रस्तुतिका क्रममा उल्लेख गरिएको थियो ।

छलफलमा भाग लिनुहुँदै महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता श्री लोकराज पराजुलीले भ्रष्टाचार मुद्दासँग सम्बन्धित मुद्दामा बहसपैरवीको लागि सर्वोच्च अदालतसम्म एउटा छुट्टै महाशाखा बनाई कार्य गर्न सकिने विकल्पसहितको धारणा राख्नु भएको थियो । सहन्यायाधिवक्ता श्री ध्रुवकुमार चौहानले मिसिल फाइलहरुको सुरक्षा र साक्षी संरक्षणमा पर्याप्त ध्यान दिनुपर्ने बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहन्यायाधिवक्ता श्री अच्युतमणि न्यौपानेले विशेष सरकारी वकिल कार्यालयका वकिलले मात्रै हाल विशेष अदालतमा बहसपैरवी गर्ने गरेको पाइँदा उक्त कार्यालय र आयोग दुवै निकायका सरकारी वकिलले बहसपैरवी गर्ने व्यवस्था गरी भ्रष्टाचारका मुद्दामा सफलता बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो । प्रहरी नायब महानिरीक्षक श्री कमलबहादुर जिसीले भ्रष्टाचार मुद्दाको उजुरी गुणात्मक बनाउन निश्चित ढाँचा र नाम उल्लेख गरी उजुरी दिनुपर्ने व्यवस्था गर्न सकिने उल्लेख गर्नुभयो । विशेष सरकारी वकिल कार्यालयका उपन्यायाधिक्ताहरु श्री सुवर्णमान बनेपाली, श्री देवेन्द्रराज आचार्य र श्री पदमबहादुर कार्कीले भ्रष्टाचार मुद्दाको अनुसन्धान र अभियोजन वैज्ञानिक बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको थियो। कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधवक्ताज्यूहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवम् महाशाखा प्रमुखहरु, विशेष सरकारी वकिल कार्यालयका सरकारी वकिलहरु र विशेष अदालतका उपरजिस्ट्रारलगायत भ्रष्टाचार मुद्दासँग सम्बन्धित सरोकारवालाहरुको सहभागिता  थियो ।

कार्यक्रमका झलकहरुः


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

मिलापत्रका लागि आवश्यक ढाँचा तथा कागजजातः


विशेष सरकारी वकील कार्यालयको आ व २०७८-७९ को वार्षिक प्रतिवेदन।


बैकिंङ कसुर मुद्दाको मिलापत्र निवेदनको फर्मेट।


विशेष सरकारी वकील कार्यालय संग सम्बन्धित चालु आ.व. २०७८।०७९ को श्रावणदेखी माघ मसान्तसम्मको अदालत तथा न्यायाधिकरणमा मुद्धा दर्ताको विवरण


सवारी खरिद सम्बन्धी सिलबन्दी बोलपत्र आव्हान गरिएको सूचना।


सवारी खरिद सम्बन्धी सिलबन्दी बोलपत्र आव्हान गरिएको सूचना।


दशैँ विदामा कर्मचारी खटाइएको


विशेष अदालतमा साक्षी बकपत्र स्थगनसम्बन्धी सूचना


उपन्यायाधिवक्ता श्री पदमबहादुर कार्कीको विदाइ कार्यक्रम


कार्यालयमा कामकाज गर्ने गरी कर्मचारी खटाइएको सम्बन्धमा