महान्यायाधिवक्ताको कार्यालयको रणनीतिक योजना कार्यानवयनको समीक्षा ।

महान्यायाधिवक्ताको कार्यालयको दोस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७३।०७४-२०७७।०७८) अन्तर्गत दोस्रो वर्ष (आ.व. २०७४।०७५) को कार्यान्वयन स्थितिको २०७५ कार्तिक १६ गते शुक्रबार समीक्षा गरिएको छ ।

माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलको अध्यक्षतामा महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतका पदाधिकारीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा रणनीतिक योजना कार्यान्वयन स्थितिको समीक्षा प्रस्तुत गर्दै नायब महान्यायाधिवक्ता श्री किरण पौडेलले निर्धारित ५ लक्ष्यका रणनीतिहरूमध्ये ४४.७ प्रतिशत कार्यान्वयन भएका, २१.05 प्रतिशत आंशिक कार्यावयन भएका र ३४.२१ प्रतिशत कार्यान्वयन हुन बाँकी रहेको अवस्था चित्रण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय महान्यायाधिवक्ता खरेलले रणनीतिक योजनाको कार्यान्वयनबाट नतिजामा गुणात्मक सुधार आउनुपर्ने बताउँदै नतिजामा सुधार नआएसम्म प्रतिफल आएको मान्न नसकिने बताउनुभयो । उहाँले सूचना प्रविधिको प्रयोग र भाषागत ज्ञान सरकारी वकीलहरूका लागि आधारभूत आवश्यकता भएकाले सबैमा अनिवार्य गर्नुको विकल्प नभएको बताउनुभयो ।

नायब महान्यायाधिवक्ता श्री खगराज पौडेलले सरकारी वकील कार्यालयहरूको भौतिक अवस्थामा केही सुधार भएको बताउदै जनशक्तिको दक्षता र कार्यसम्पादनमा अझै सुधार गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । नायब महान्यायाधिवक्ता श्री पद्मप्रसाद पाण्डेयले रणनीतिक योजनाले संस्थागत विकासमा योगदान दिने बताउनुभयो ।
छलफलमा सरकारी वकील कार्यालयहरूको भौतिक व्यवस्थापन, संस्थागत सुधार, मुद्दा व्यवस्थापन र अभियोजन प्रणालीमा सुधार लगायतका विषयमा छलफल भएको थियो ।