महान्यायाधिवक्ताको कार्यालयको भवन शिलान्यास कार्यक्रम ।

महान्यायाधिवक्ताको कार्यालयको भवनको आज मिति २०७५ साल आश्विन २४ गते माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूले शिलान्यास गर्नुभएको छ । रामशाहपथस्थित करिब ८ रोपनी क्षेत्रफल जग्गामा निर्माण हुन लागेको भवन ८ तला र बेसमेन्ट पार्किङ् सहितको हुनेछ ।

माननीय महान्यायाधिवक्ता खरेलले भवनको जगमा इटा राखी शिलान्यास गर्दै शिलालेखको अनावरण समेत गर्नुभएको थियो । उक्त अवसरमा उहाँले महान्यायाधिवक्ताको कार्यालय र मातहतका कार्यालयहरूको संस्थागत सुधारका लागि आफू प्रयत्नशील रहेको बताउनुभयो ।महान्यायाधिवक्ताको कार्यालय निर्माण भएपछि कार्य वातावरणमा सुधार हुने अपेक्षा समेत उहाँले व्यक्त गर्नुभयो ।

नेपाल बार एसोसीयसनका अध्यक्ष श्री शेर बहादुर केसीले सरकार वादी हुने मुद्दा चलाउने नचलाउने अधिकार संविधानले महान्यायाधिवक्तालाई मात्र दिएकाले अन्य निकायबाट अनुसन्धान र अभियोजन भैरहेका मुद्दाहरूमा समेत महान्यायाधिवक्ताबाट अनुसन्धान र अभियोजन हुने गरी अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नायब महान्यायाधिवक्ता श्री खगराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा महान्यायाधिवक्ताको कार्यालयका आधिकारिक ट्रेड युनीयनका अध्यक्ष श्री गजराज घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाइका इन्जीनीयर श्री लिला खतिवडाले भवनको विस्तृत विवरण जानकारी गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन सहन्यायाधिवक्ता श्री नारायण प्रसाद पौडेलले गर्नुभएको थियो ।

बि.सं. २०२९ सालमा निर्मित पुरानो भवन २०७२ सालको भूकम्पका कारण चर्किएर प्राविधिक मूल्याङ्कनबाट रातो स्टीकर लागी कार्यसम्पादन गर्न उपयुक्त नहुने प्रतिवेदन प्राप्त भएपछि सोही ठाउँमा नयाँ भवन निर्माण गर्न लागिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्लास्तरीय परियोजना कार्यान्वयन इकाइबाट सो भवन निर्माण हुन लागेको हो ।

कूल ९४ करोड, ६६ लाख ७७ हजार ४ सय २ रुपैया पैसा २२ लागत अनुमान रहेको उक्त भवन निर्माणका लागि भएको टेण्डरमा शर्मा÷समानान्तर जे भी, काठमाडौंले भ्याटबाहेक ७० करोड ९५ लाख ६७ हजार २ सय १७ मा निर्माण गर्न ठेक्का प्राप्त गरी निर्माणका लागि सम्झौता समेत भैसकेको छ । २०७५ असार ३१ बाट कार्य सुरू भएकोमा २०७७ पौष ३० सम्म २ वर्ष ६ महिनाको अवधिमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने गरी सम्झैता भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयको कार्यचाप र आगामी केही वर्षमा थपिन सक्ने जनशक्ति संरचना समेतलाई प्रक्षेपण गरी भवनको नाप नक्सा तथा डिजाइन तयार गरिएको छ । नवनिर्मित भवनमा मुख्य भवन (९,१४६.९७ बर्गमिटर) का अतिरिक्त सुरक्षाकर्मी भवन र क्यान्टीन समेत रहेका छन् । विभिन्न विभाग, महाशाखा तथा शाखाहरू, बैठक कक्ष तथा बहुउद्देश्यीय प्रकृतिको हल र स्वास्थ्य उपचार कक्ष समेत स्थापना गर्ने गरी भवनको डिजाइन तयार भएकाले यस भवन निर्माण सम्पन्न भएपश्चात महान्यायाधिवक्ताको कार्यालयको कार्यवातावरणमा सुधार हुने अपेक्षा कार्यालयको रहेको छ ।

Views: 1040