संहिता कार्यान्वयन सम्बन्धमा कानूनका प्राध्यापकहरूसँग छलफल ।

महान्यायाधिवक्ताको कार्यालयको दोस्रो पञ्चवर्षीय रणानीतिक योजनामा उल्लेख भएबमोजिम २०७५ भाद्र २८ गते विभिन्न विश्वविद्यालयका कानूनका प्राध्यापकहरूसँग छलफल गरिएको छ ।

माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कानून शिक्षाको गुणस्तर, महान्यायाधिवक्ताको कार्यालयमा दक्ष जनशक्ति प्राप्तीमा भएका समस्याहरू र २०७५ साल भाद्र १ गतेदखि लागू भएका संहिताहरूको कार्यान्वयनका सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयले गरेका प्रयासहरूका सम्बन्धमा छलफल छलफल गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय महान्यायाधिवक्ता खरेलले कानूनी शिक्षामा गुणस्तर नभएसम्म त्यहाँबाट उत्पादित जनशक्तिले गर्ने सेवाप्रवाहमा सुधार आउन नसक्ने भएकाले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । विश्वविद्यालयमा हुने सैद्धान्तिक पठनपाठन र अभ्यासमा क्रममा हुने सिकाइका बीचमा तादात्म्यता सिर्जना गर्न महान्यायाधिवक्ताको कार्यालय र कानून अध्यापन गर्ने संस्थाहरूका बीचमा स्रोतव्यक्तिको आदान प्रदान गर्ने र सरकारी वकीलहरूलाई उच्च शिक्षा र प्राज्ञिक अवसरहरूमा सहभागी गराई वृत्ति विकासमा समेत ध्यान दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डि एन पराजुलीले प्राज्ञिक अभ्यास गर्ने प्राध्यापकहरूलाई पछिल्ला कानूनी व्यवस्थाहरूमा अपडेट गर्दै पठनपाठनलाई प्रभावकारी बनाउन यस प्रकारका छलफल कार्यक्रमहरू महत्वपूर्ण हुने बताउनुभयो । नेसनल ल कलेजका क्याम्पस प्रमुख डा. रामकृष्ण तिमिल्सीनाले महान्यायाधिवक्ताको कार्यालयले विभिन्न अपराधहरूमा विधागत रूपमा बिज्ञ सरकारी वकील उत्पादन गर्नेतर्फ अगाडि बढ्न सुझाउनुभयो ।

त्रिभुवन विश्वविद्यालय कानून संकायका डिन ताराप्रसाद सापकोटा समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न विश्वविद्यालय र कानून अध्यापन गर्ने संस्थाका प्राध्यापकहरूले छलफलमा भाग लिनुभएको थियो । उक्त अवसरमा सहन्यायाधिवक्ता विश्वराज कोइरालाले संहिता कार्यान्वयन सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयबाट भएका प्रयासहरूका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शाखा अधिकृत बिमला गौतमले गर्नुभएको थियो ।