नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश श्री ओमप्रकाश मिश्रज्यूसँग महान्याायधिवक्ताको कार्यालयको भेटघाट ।

माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेलज्यूले सम्माननीय प्रधानन्यायाधीश श्री ओमप्रकाश मिश्रज्यूसँग २०७५ भाद्र २६ गते भेटघाट गरी सम्माननीय प्रधान न्यायाधीशको पदमा नियुक्त भई पदबहाल गरेकोमा बधाई दिँदै दुइ संस्थाबीच आपसी सम्बन्ध र काम कारवाहीलाई प्रभावकारी बनाउने विषयम छलफल गर्नुभएको छ ।

महान्यायाधिवक्ताको कार्यालयका उच्च अधिकारीहरू समेतको टोलीले मुद्दा व्यवस्थापन, कार्यविधिगत विषयहरू र कार्यसम्पादनलाई सूचना प्रविधिमैत्री बनाउने लगायत विषयमा छलफल गरेको हो । उक्त अवसरमा माननीय महान्यायाधिवक्ताले अदालतबाट सरकारी वकील कार्यालयहरूले आदेश वा फैसलाको जानकारी समयमा प्राप्त गरी न्याय प्रशासनलाई छिरतो बनाउनुपर्ने धारणा राख्नुभएको थियो । यस प्रसङ्गमा सर्वोच्च अदालतमा पुरावेदन गर्ने र मुद्दा दोहोर्याइ हेर्ने लगायतका मुद्दासँग जोडिएका प्रक्रियागत विषयउपर समेत छलफल गरिएको थियो ।

त्यसैगरी प्रदेश सरकारलाई विपक्षी बनाइएका मुद्दाहरूको प्रतिरक्षाका लागि कतिपय मुद्दामा सरकारी वकील कार्यालयमा प्रतिरक्षाको जानकारी दिने गरेको पाइएकाले सो विषयको प्रतिरक्षा मुख्य न्यायाधिवक्ताको कार्यालयबाट हुने भएकाले सोही अनुरूप गर्नुपर्ने र स्थानीय सरकारका सन्दर्भमा कानून बनाई निर्क्यौल गर्नुपर्ने अवस्था रहेको माननीय महान्यायाधिवक्ताले बताउनुभयो । त्यस्तै अदालती कारवाहीलाई सहज बनाउन अनुसन्धानकर्ता नेपाल प्रहरी, अभियोजनकर्ता सरकारी वकील र न्यायालयको काम कारवाहीलाई एउटै सूचना प्रविधि प्रणालीमा आवद्ध गर्नु उपयुक्त हुने भएकाले सोतर्फ समेत गृहकार्य गरी पहल थाल्नुपर्ने धारणा भेटघाटका क्रममा राख्नुभएको थियो ।

उक्त अवसरमा सम्माननीय प्रधानन्यायाधीश श्री ओमप्रकाश मिश्रले छलफलमा उठेका विषयहरूको कार्यान्वयनमा आफू सकारात्मक रहेको बताउनुभएको थियो ।