नवनियुक्त महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूद्वारा पद वहाली ।

काठमाडौं, फागुन ९ – माननीय महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले बुधबार महान्यायाधिवक्ताको कार्यालयमा पदवहाली गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूको उपस्थितिमा सम्माननीय प्रधानन्यायाधीश श्री गोपाल पराजुलीज्यूले महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूलार्इ पद तथा गोपनियताको सपथ गराउनुभएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयमा नायव महान्यायाधिवक्ताज्यूहरू लगायत सरकारी वकील र कर्मचारीहरूले महान्यायाधिवक्ताज्यूलार्इ स्वागत गरेका थिए ।

महान्यायाधिवक्ता श्री अग्निप्रसाद खरेलज्यूले स्वागत कार्यक्रमलार्इ सम्बोधन गर्दै सरकारी वकीलको काम व्यावसायिक भएकाले तोकिएको काम सम्पन्न गरी परिणाम देखिने गरि नतिजामुखि हुन सरकारी वकीललार्इ निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “महान्यायाधिवक्ताको पद राजनीतिक नियुक्ती हो । तर, यो गरिमामय पदमा नियुक्त भएपछि काम भने व्यवसायिक गर्नुपर्छ ।”

संविधानमा उल्लेख भए बमोजिम सरकारी वकीलको पारिश्रमिक र सेवा शर्त सम्बन्धी कानून निर्माण गर्न आफू क्रियाशील हुने माननीय महान्यायाधिवक्ताज्यूले उल्लेख गर्नुभयो ।

उहाँले महान्यायाधिवक्ताको कार्यालयको दोस्रो पञ्चवर्षिय रणनीतिक योजनाले निर्दिष्ट गरे बमोजिम कार्यहरू सम्पन्न गर्न र सरकारी वकील कार्यालयको भौतिक क्षमता विकास, सरकारी वकील र कर्मचारीहरूको क्षमता विकासमा क्रियाशील हुने बताउनुभयो ।

नायव महान्यायाधिवक्ता श्री वद्री प्रसाद गौतमज्यूले कार्यालयको स्थितिको बारेमा महान्यायाधिवक्ताज्यूलार्इ जानकारी गराउनुभएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मीज्यूले गर्नुभएको थियो ।

Views: 321